पाठशाला [Pathshala]
DETAILED SUMMARY / BACK COVER
सूचना ! यस विद्यालयका भूतपूर्व छात्र श्री गगन थापा मानसिकरूपले अस्वस्थ रहेको जानकारी हामीलाई आएको छ । प्रारम्भमा मेधावी बालकको रूपमा उदाएका गगनको प्रगति बिस्तारै खस्किँदै गएको तथ्य रिकर्डहरूले बताउँछन् । तत्कालीन विद्यालय प्रशासनबाट एकाधपटक प्रताडित भएको जस्तो लाग्ने गगन थापाको व्यवहारचाहिँ असल थियो भनेर दावी गर्ने स्थान उनले छोडेनन् । यसको अर्थ उनी बदमास र नालायक थिए भन्ने चाहिँ हैन । सहपाठीहरूमाझ मिलनसार भए पनि एउटा अपरिभाषित कम्प्लेक्स बोकेर उनी विद्यालयबाट बिदा भएका थिए । बहुमुखी रूचिका मालिक, भविष्यमा केही बन्ने ठानिएको उनको प्रतिकूल स्वास्थ्यप्रति हाम्रो सत्य, हार्दिक र गहिरो सहानुभूति छ । निजको शीघ्र स्वास्थ्यलाभको कामनाको लागि यो सार्वजनिक सूचना गरिएको छ ! - प्रिन्सिपल न्यू हार्फोर्ड मोर्डन इङ्लिस स्कुल माटेपानी-१२, पोखरा