सन्तापको धून [Santaapko Dhoona]
DETAILED SUMMARY / BACK COVER
अशोक थापाका कथामा सन्तापको अनौठो उत्सव भेटिन्छ । यी कथामा व्यक्ति, समाज अनि प्रकृतिभित्र निहित अदृश्य तर गहिरा सुस्केराहरू नृत्यमग्न छन् । कारण जेसुकै हुन् सृष्टिलहरमा प्रकृतिसँगै बगेका मान्छेले समयको कुनै मोडमा पुगेर सङ्गतिको लय गुमाएको सत्य हो । विसङ्गत मान्छेहरूको समाज र यसबाट अभिशप्त संस्कृति एवम् प्रकृतिका बीच सङ्गतिको खोजी गर्नु थापाको कथाकारिताको मूल ध्येय देखिन्छ । गाउँसहरको अन्तर्यबाट टिपिएका मिथक र यथार्थका मधुरा खाडलबाट अवतरित अनेक पात्रहरूको मेला छ कथामा। यसमा सन्तानका लागि सम्पूर्ण खुसी गुमाएका बाआमा छन्, अभिभावकको न्यानो काख गुमाएर निर्दयी संसारको छातीमा बजारिएका निर्दोष बालबालिका छन्, भूमिको स्वामित्व गुमाएर आफ्नै थातथलोमा सुकुम्बासी बनेका गरिबका जीवनका व्यथा छन्, रूप र सौन्दर्यका कृत्रिम कसीले झट्कारेका युवा छन्, अन्धविश्वासको भारीले किचिएका उदासीन महिला छन् र विरोधाभासले भित्रभित्रै चिरिएर बाहिर कृत्रिम सङ्गतिको हाँसो लिएर बाँच्न विवश नरनारी छन् । द्विविधा र विसङ्गतिका इमानदार उत्खननका लागि प्रयोग गरिएका मनमोहक आख्यानशिल्प, जीवन्त परिवेश र आञ्चलिक भाषाको प्राकृतिक स्वर अनि कथालाई नसोचेको मोडमा पुऱ्याएर अवतरण गर्ने कला सर्जकका विशिष्ट गुण हुन् ।