युगको तेज [Yugako Tej]
DETAILED SUMMARY / BACK COVER
जीवन जिउने क्रममा भोगेका सारा कुरा नयाँ पुस्ताका लागि काम लाग्न पनि सक्छ भन्ने लाग्छ मलाई । केही वर्षअघिदेखि नै साहित्यकार जितेन्द्र रसिकले मेरो जीवनका भोगाइलाई मसँग दिनहुँ साथमा बसेर औपचारिक वा अनौपचारिक रूपमा मेरो अन्तर्वार्ता लिएर मैले जीवनमा भोगेका, गरेका हरेक गतिविधिलाई जीवनीका रूपमा लेखन सुरू गरेर प्रकाशन गर्न कम्मर कस्नुभयो । मैले पनि सम्झेका कतिपय जीवनका संस्मरण बोलेर दिएँ । कतिपय टिपोट दिएँ र आज मेरै जीवनमा आधारित ‘युगको तेज’ जीवनी कृति प्रकाशन हुने कुराले म खुसी छु । अब यो नौ दशकको तन्नेरीले लेख्नभन्दा बढी बोल्न सक्छ । त्यसैले मेरा जीवनका कतिपय उद्घाटन नभएका संस्मरणहरू जितेन्द्र रसिक(जितेन्द्रलाल श्रेष्ठ) ले ‘युगको तेज’ मा लेखेका छन् । तेजेश्वरबाबु ग्वंगः आदर्श र उदाहरणीय साहित्यसाधकको जीवनी ‘युगको तेज’ प्रकाशित हुनु नेपाली भाषा, साहित्य र संस्कृति क्षेत्रका लागि नै विशेष उपलब्धि बनेको छ । यति महत्त्वपूर्ण कार्यका लागि लेखक जितेन्द्र रसिक मुरीमुरी धन्यवादका पात्र हुनुहुन्छ । यस पुस्तकले समग्रमा तेजेश्वर दाइको जीवनलाई चित्रात्मक रूपमा उतारिएको छ । पुस्तकले तेजेश्वर दाइका विगतदेखि वर्तमानसम्मका महत्वपूर्ण गतिविधिहरूलाई प्रस्तुत गरिएको छ । उहाँले भनेजस्तै आफूभित्रको म र मभित्रको आफू खोज्ने काम यस पुस्तकमा भएको छ । पुस्तकले तेजेश्वर दाइसँगसँगै झण्डै नौ दशकअघिको नेपाली समाजलाई पनि देखाएको छ । त्यतिबेलाको नेपालको शहर र गाउँहरूको अवस्था, त्यतिबेलाका सुविधा र असुविधा, राजनीति, समाज, साहित्य, संस्कृति, शिक्षा व्यवस्थाको बारेमा मजाले वर्णन गरिएको छ ।