रमेश विकल समग्र उपन्यासखण्ड [Ramesh Bikal Samagra Upanyaskhanda]
DETAILED SUMMARY / BACK COVER
‘अविरल बग्दछ इन्द्रावती' ले परम्परागत शैली नै पछ्याएको छ तर त्यही शैली पनि निकै टकशाली छ - ओजपूर्ण छ, मुग्धकारी, नयाँ अनुभूति दिने खालको प्राञ्जल र परिष्कृत । ..... लेखकले वैचारिक प्रगतिशीलताप्रति सद्भाव राखेका छन् र साहित्यिक कला, सीप, मर्यायादा, सौन्दर्य तथा गरिमाप्रति निष्ठा । - वरिष्ठ समालोचक कृष्णचन्द्र सिंह प्रधान नेपाली उपन्यास र उपन्यासकार रमेश विकलले उपन्यास ( अविरल बग्दछ इन्द्रावती) को संरचनात्मक पक्ष, तिनका विभिन्न अङ्गउपाङ्गहरू र विचार एवं अनुभूतिका बीच अन्विति कायम गर्नेबारे आवश्यक ध्यान दिएको पाइन्छ । प्रस्तुत कृतिमा अन्तर्वस्तुलाई प्रथमिकता दिँदै अन्तर्वस्तु र रूपका बीच एकरूपता कायम गरिएको छ । ... प्रस्तुत कृति समाजवाद उन्मुख रहेको देखिन्छ । यसलाई नेपाली प्रगतिशील साहित्यको इतिहासमा एउटा महान् उपलब्धि मान्नुपर्छ । - मार्क्सवादी सौन्दर्यशास्त्री चैतन्य रमेश विकल : विम्ब एक प्रतिविम्ब अनेक 'सुनौली' उपन्यास न्यून चेतना र वर्गीय विसङ्गतिका कारण आफू शोषित बनेका नारीहरूको दशा दयनीय रहेको पुरुषहरूको यौनतर्खाको निराकरण बनेर सामाजिक संवेदना उपन्यासले प्रतिपादन गरेको छ । ...'अविरल बग्दछ इन्द्रावती' र 'सागर उर्लन्छ सगरमाथा छुन' अधिकतर समाजवादी यथार्थवादी प्रवृत्तिका छन् । - प्रा. राजेन्द्र सुवेदी रमेश विकल : विम्ब एक प्रतिविम्ब अनेक रमेश विकलका कथा/उपन्यास प्रयोगमा सामाजिक यथार्थताको सविस्तार विश्लेषण हुन्छ, त्यसैले उनी व्यवधानमा निदानप्रति सूक्ष्म सङ्केत गर्दछन् । के 'नयाँ सडकको गीत', के 'बूढो भ्वाइलेन' अनि 'सुनौली' वा यही 'अविरल बग्दछ इन्द्रावती' सबैमा त्यहाँको जीवनले सुसङ्गतको खोजी- मानवीयताको जाहेरी, प्राकृतित्वको पुनर्स्थापन र अन्तरजनित व्यक्तिताले व्यक्तिने पथ समातेको पाइन्छ । सामाजिक असमानता, ग्राम्यजीवनका विविध अप्ठ्यारा परिवेशहरूको निदान गवेषणा. यथार्थता र आञ्चलिक उपक्रमले कथावस्तुमा कृतित्रमता लेस पनि रहन्न ती हाम्रै परिवेशबाट टिपिएका हाम्रै दैनन्दिनका भोगाइहरू हुन् । - वरिष्ठ समालोचक युवराज मैनाली केही प्रतिभा, केही प्रतिविम्ब तेस्रो चरणमा लेखिएका कथा र उपन्यास दुवैमा समाजका विविध यथार्थको अभिव्यक्ति छ । यस चरणमा लेखिएको 'अविरल बग्दछ इन्द्रावती' उपन्यासले समेत निम्न वर्गीय समस्यालाई उजागर गर्दै उच्च वर्गका पाशविक प्रवृत्तिको पर्दाफास गरी निम्न वर्गप्रति सहानुभूति प्रकट गरेको छ । - प्रा. डा. हेमनाथ पौडेल रमेश विकलका प्रतिनिधि कथा रमेश विकलका तीन उपन्यासमध्ये सांस्कृतिक चिन्तनका हिसाबले 'अविरल बग्दछ इन्द्रावती' महत्त्वपूर्ण देखिन आउँदछ। सांस्कृतिक भ्रष्टताको प्रतिविम्बका हिसाबले 'सागर उर्लन्छ सगरमाथा छुन' शक्तिशाली देखिए पनि सांस्कृतिक चेतना र त्यसतर्फको तत्परताका दृष्टिले 'अविरल बग्दछ इन्द्रावती' नै अगाडि देखिन्छ । रमेश विकल साहित्य प्रतिष्ठान - विष्णुप्रसाद ज्ञवाली सांस्कृतिक अध्ययन र विकलका उपन्यास